आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीका पक्षमा माहोल सिर्जना गर्न मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेले पूर्वसांसद एवं प्रभावशाली नेता लालबाबु पण्डितलाई कमान्डर ताेकेकाे छ।
एमालेको क्षेत्रीय कमिटी बैठकले ५०१ सदस्यीय विशाल परिचालन कमिटी गठन गर्दै पण्डितलाई चुनावी कमान्डरको जिम्मेवारी सुम्पेको हाे।कमिटीमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यका साथै महानगरपालिका, नगरपालिका र गाउँपालिका कमिटीका प्रतिनिधिलाई पनि समेटिएको एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिए।
निर्वाचन परिचालन कमिटीले अब क्षेत्र नम्बर ६ का विराटनगर महानगरपालिका, सुन्दरहरैँचा नगरपालिका र बुढीगंगा गाउँपालिकाका २० वटा वडामा केन्द्रित भएर चुनावी प्रचारप्रसार अभियान सञ्चालन गर्ने योजना बनाएको छ। मोरङको यस क्षेत्रमा विराटनगर महानगरपालिकाका सातवटा वडा, सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडा र बुढीगंगा गाउँपालिकाका सबै वडा पर्छन्।
कुल १ लाख ३७ हजार ८३२ मतदाता रहेको यस क्षेत्रमा निर्वाचनका लागि ३९ मतदान स्थल र १४९ मतदान केन्द्र तोकिएका छन्।
याे क्षेत्रमा नेपाली कांग्रेसका नेता शेखर काेइराला पनि चुनावी प्रतिस्पर्धामा छन्।