काठमाडौं — राजधानीको जमल क्षेत्रमा आज दिउँसो चार वटा सवारीसाधन आपसमा ठोक्किँदा भीषण आगलागी भएको छ। प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा फैलिएका दृश्यअनुसार तीव्र गतिमा रहेका सवारीहरू ठोक्किएपछि एक सवारीमा लागेको आगो क्रमशः अन्य सवारीमा समेत फैलिएको थियो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज अधिकारीले दुर्घटनापछि आगलागी हुँदा चारदेखि पाँच जनासम्म घाइते भएको जानकारी दिएका छन्। उनका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ र घटनासम्बन्धी विस्तृत विवरण संकलन भइरहेको छ।
सडकको बीचमै सवारीसाधनमा आगो लागेपछि जमल–दरबारमार्ग क्षेत्रको सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। सूचना प्राप्त हुनासाथ दमकल र प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयासमा जुटेका छन्।
हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक नभए पनि दुर्घटनामा परेका सवारीसाधनमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
जमलमा चार वटा गाडी एकापसमा ठोक्किँदा आगजनी, पाँच जना घाइते
RELATED ARTICLES