सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी महाधिवेशनबाट पुनः सभापति बन्ने लक्ष्यसहित सर्लाही क्षेत्र नम्बर–४ मा जिम्मेवारीका साथ सक्रिय हुने बताएका छन्।
मंगलबार सर्लाहीको बलारा नगरपालिकामा अगुवा कार्यकर्तासँग भएको छलफलमा थापाले आफू भागेर सर्लाही आएको होइन भन्दै स्पष्ट पारे। काठमाडौँ–४ का कार्यकर्ताले त्यही क्षेत्रबाट चुनाव लड्न आग्रह गरे पनि सर्लाही–४ नछोड्ने अडान लिएको उनले बताए। ‘अब यहाँका जनताले सर्लाही–४ छोड्नुपर्दैन भन्ने विश्वास दिलाएरै छाड्छु,’ थापाले भने, ‘म भाग्ने स्वभावको मान्छे होइन।’
मधेस र पार्टीभित्र आफूले काम गर्ने समय अब सुरु भएको उल्लेख गर्दै उनले विशेष महाधिवेशनमार्फत सभापति बनेको स्मरण गराए। ‘कांग्रेसको नेतृत्व सम्हालेको धेरै भएको छैन, अधिवेशन आउँदै छ, फेरि सभापति बन्ने दायित्व पनि छ,’ उनले भने। यसै सन्दर्भमा सर्लाही–४ मा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
थापाले आफूले गर्न सक्ने समस्या तत्काल समाधानतर्फ पहल गर्ने भन्दै जनताका हकअधिकार आफ्नो प्रतिनिधिमार्फत पनि सुनिश्चित हुने बताए। काठमाडौँमा जस्तै सर्लाही–४ मा पनि २४सै घण्टा प्रयोग गर्न मिल्ने टेलिफोन नम्बर उपलब्ध गराइएको जानकारी दिँदै उनले स्थानीयलाई गुनासो र सुझाव सिधै राख्न आग्रह गरे। ‘यो नम्बर चुनावका लागि मात्र होइन, चुनावपछि पनि निरन्तर सक्रिय रहन्छ,’ उनको भनाइ थियो।
कार्यक्रममा उनले घरदैलो अभियानलाई अझ तीव्र बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। ‘एउटै घर पनि छुट्नु हुँदैन, हरेक घरमा पुग्नुपर्छ र प्रत्येक व्यक्तिसँग भेट गर्नुपर्छ,’ भन्दै उनले संगठनलाई सक्रिय बनाउन जोड दिए।
सर्लाहीका कार्यकर्तासँग गगनले भने- कांग्रेसको महाधिवेशनबाट फेरि सभापति बन्नु छ
RELATED ARTICLES