राष्ट्रिय सभामा १८ जना नयाँ सदस्य निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरूमा अनुभवी, युवा तथा समावेशी पृष्ठभूमिका प्रतिनिधिहरू समेटिएका छन् ।
आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । निर्वाचनको नतिजा अनुसार तालमेलका उम्मेदवारहरू नै विजयी भएका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सातै प्रदेशमा रहेका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल १ हजार ५०६ मतदाता सहभागी थिए । नवनिर्वाचित सदस्यहरूको कार्यकाल फागुन २१ गतेदेखि सुरु हुनेछ ।
प्रतिनिधिसभाको अनुभव बोकेर राष्ट्रिय सभामा
नवनिर्वाचित सदस्यहरूमध्ये महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही यसअघि प्रतिनिधिसभामा काम गरिसकेका अनुभवी नेता हुन् ।
मधेश प्रदेशबाट निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर पटक–पटक प्रतिनिधिसभा सदस्य भइसकेका वरिष्ठ नेता हुन् । उनले यसपटक प्रतिनिधिसभा छाडेर राष्ट्रिय सभामा प्रवेश गरेका छन् ।
लुम्बिनी प्रदेशबाट निर्वाचित रामकुमारी झाँक्री पूर्व प्रतिनिधिसभा सदस्य हुन् । २०७४ मा समानुपातिक प्रणालीबाट सांसद बनेकी झाँक्री २०७९ को निर्वाचनमा पराजित भएपछि यसपटक राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।
कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही संविधान सभाका पूर्व सदस्य हुन् । संविधान निर्माणमा भूमिका खेलेका शाहीले राष्ट्रिय सभाबाट संविधान कार्यान्वयन र सुदृढीकरणमा योगदान दिने प्रतिबद्धता जनाएका छन् ।
कोशी प्रदेशबाट सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा थापा संघीय सांसद र मन्त्रीको अनुभव बोकेका नेता हुन् ।
सीमान्तकृत र समावेशी प्रतिनिधित्व
कोशी प्रदेशबाट रोशनी मेचे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन् । सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा पुग्ने उनको यात्रालाई ऐतिहासिक मानिएको छ । उनले अल्पसंख्यक र सीमान्तकृत समुदायको हक–हितका लागि नीति निर्माणमा भूमिका खेल्ने बताएकी छन् ।
त्यसैगरी, कोशी प्रदेशबाट दलित क्लस्टर अन्तर्गत सोम पोर्तेल निर्वाचित भएका छन् । उनले राष्ट्रिय सभामा युवाको आवाज बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मधेश, बागमती र गण्डकीबाट नयाँ अनुहार
मधेश प्रदेशबाट कांग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा एमालेकी रेखा झा निर्वाचित भएका छन् । पासवान दलित अधिकारकर्मी हुन् भने कर्ण नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।
बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेम दंगाल निर्वाचित भएका छन् । दुवै जना किसान, सामाजिक न्याय र नीतिगत बहसमा सक्रिय व्यक्तित्व हुन् ।
गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा निर्वाचित भएका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तिमिल्सिना अध्यापन पेशाबाट राष्ट्रिय सभामा पुगेका हुन् भने देवकोटा लामो राजनीतिक संघर्षपछि संसद् प्रवेश गर्न सफल भएकी हुन् ।
अन्य प्रदेशका नतिजा
लुम्बिनी प्रदेशबाट कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाहीसँगै एमालेकी मिना रखाल निर्वाचित भएकी छन् ।
सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीला भण्डारी राष्ट्रिय सभा सदस्य बनेका छन् ।