३ कम्पनीमार्फत ३१७ विदेशी पर्यटकको नक्कली रेस्क्यु
चार्टर फ्लाइटलाई ‘रेस्क्यु’ देखाएर विदेशी पर्यटकको बीमा रकम ठगी गरिएको खुलासा भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा नियमित तथा चार्टर उडानलाई समेत नक्कली उद्धारका रूपमा प्रस्तुत गरी बीमा दाबी गरिएको प्रमाण फेला परेको हो।
आइतबार लाजिम्पाटस्थित सीआईबी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीले चार्टर फ्लाइटलाई उद्धार देखाएर बीमा रकम असुलिएको बताए। उनका अनुसार यो वास्तविक उद्धार नभई पूर्ण रूपमा योजनाबद्ध ‘फेक रेस्क्यु’ हो।
सीआईबीका अनुसार एउटै चार्टर फ्लाइटमार्फत आएका पर्यटकलाई फरक–फरक समयमा उद्धार गरिएको देखाई बहुविध बिलिङ गर्ने गरिएको छ। कतिपय अवस्थामा नियमित उडानलाई समेत रेस्क्यु देखाएर बीमा दाबी गरिएको पाइएको छ। यसका लागि नक्कली समयतालिका, यात्रु विवरण र बिलहरू तयार गरिएको थियो।
पदयात्रा सकेर फर्कने क्रममा पर्यटकलाई सहजै प्रभावित पारेर चार्टर फ्लाइट प्रयोग गराई त्यसलाई उद्धारको रूपमा प्रस्तुत गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ।
६ जना पक्राउ
साढे दुई महिनासम्म विशेष टोली बनाएर अनुसन्धान गरेपछि सीआईबीले नक्कली उद्धारमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा:
- माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे
- नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवकेराज थपलिया
- एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी
३ कम्पनीबाट ३१७ जनाको नक्कली उद्धार
सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार तीनवटा कम्पनीमार्फत मात्रै ३१७ विदेशी पर्यटकको नक्कली उद्धार गरिएको छ।
- माउन्टेन रेस्क्यु सर्भिस:
२०२२ देखि २०२५ सम्म १,२४८ उद्धारमध्ये १७१ वटा नक्कली
→ बीमा दाबी रकम: १ करोड ३ लाख १० हजार अमेरिकी डलर - नेपाल चार्टर सर्भिस:
४१७ उद्धारमध्ये ७५ वटा नक्कली
→ बीमा दाबी रकम: ८२ लाख ३४ हजार अमेरिकी डलर - एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स:
६०१ उद्धारमध्ये ७१ वटा नक्कली
→ बीमा दाबी रकम: ११ लाख ५३ हजार अमेरिकी डलर
तीनै कम्पनीले हालसम्म नक्कली उद्धारमार्फत करिब १९.६९ मिलियन अमेरिकी डलर बीमा रकम लिएको सीआईबीको दाबी छ।
बीमा कम्पनीले प्रिमियम रोक्न थाले
नक्कली उद्धारको संख्या बढ्दै गएपछि केही अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूले नेपालका लागि बीमा प्रिमियम रोक्न थालेका छन्। हालसम्म तीन वटा बीमा कम्पनीले प्रिमियम स्थगन गरेको सीआईबीका अधिकारीले जानकारी दिएका छन्। यसले नेपालको पर्यटन क्षेत्रलाई गम्भीर असर पार्ने खतरा देखिएको छ।
कानुनी कारबाही र सजाय
पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत:
- राज्यविरुद्धको कसुर (दफा ५१)
- ठगी (दफा २४९)
- आपराधिक लाभ (दफा २५३)
- लिखत किर्ते (दफा २७६)
- संगठित अपराध र सम्पत्ति शुद्धीकरण
सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
सीआईबीका अनुसार नक्कली मेडिकल रिपोर्ट, हेलिकप्टर बिल र बीमा कागजात प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल बनाइएको छ।
फेक रेस्क्यु कसरी गरिन्थ्यो ?
विदेशी पर्यटक हिमाली क्षेत्रमा जानुअघि बीमा गर्छन्। उनीहरूको बीमा विवरण पहिला ट्राभल एजेन्सीले लिने र त्यसपछि योजनाबद्ध रूपमा नक्कली उद्धारको तयारी गर्ने गरिएको पाइएको छ।
सामान्य उचाइजन्य समस्या वा थकानलाई गम्भीर रोगको रूपमा प्रस्तुत गरी पर्यटकलाई डर देखाइ हेलिकप्टरमार्फत उद्धार गरिन्थ्यो। केही निश्चित अस्पतालमा मात्र लैजाने व्यवस्था मिलाइ बीमा कम्पनीसँग ठूलो रकम दाबी गरिन्थ्यो।
पुराना घटनाको प्रमाण जुटाउन कठिन
२०१८ यताकै फेक रेस्क्युका उजुरी परे पनि पुराना घटनाको ठोस प्रमाण नपाउँदा अनुसन्धानमा कठिनाइ भएको सीआईबीले जनाएको छ। यसअघि सरकारले बनाएको कार्यविधि कार्यान्वयन कमजोर हुँदा समस्या झन् बढेको देखिएको छ।सीआईबीका अनुसार यस्तो फेक रेस्क्युले नेपालको अन्तर्राष्ट्रिय पर्यटन छवि, प्रतिष्ठा र विश्वसनीयतामा गम्भीर असर पार्नुका साथै वास्तविक आपतमा परेका पर्यटकको ज्यान जोखिममा पर्न सक्ने खतरा छ।