back to top
Thursday, April 16, 2026
HomeTrendingनयाँ शक्तिको उदय र भूराजनीति : ओली–प्रचण्डको रणनीतिक पोजिसन के ?

नयाँ शक्तिको उदय र भूराजनीति : ओली–प्रचण्डको रणनीतिक पोजिसन के ?

आगामी प्रतिनिधिसभा निर्वाचनपछि नेपालको राजनीतिक सत्ता–समीकरण कस्तो बन्ला भन्ने विषयमा देशभर गहिरो चर्चा सुरु भएको छ। अघिल्लो सरकारका साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) फेरि सँगै सरकार बनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न केन्द्रमा छ। तर कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले एमालेसँग कुनै पनि किसिमको चुनावी गठबन्धन नहुने स्पष्ट संकेत दिएका छन्।

यसैबीच, नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव देशभर तीव्र रूपमा फैलिँदै गएको छ। यस्तो अवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना न्यून देखिन्छ। परिणामतः पुराना राजनीतिक दलहरू बाध्यताले नै सहकार्यको खोजीमा जुट्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ।

कांग्रेस–एमाले दूरी र वैकल्पिक समीकरण

यदि कांग्रेस र एमालेबीच सहकार्य सम्भव भएन भने एमालेले प्रचण्ड–माधव नेतृत्वको नेकपासँग सत्ता साझेदारी गर्न सक्ने चर्चा पनि चल्न थालेको छ। निर्वाचनअघि नै प्रचण्डले एमालेसँग सहकार्यको प्रयास गरेका थिए, तर सहमति नजुट्दा त्यो योजना असफल भयो। उता, कांग्रेसको संस्थापन पक्षसँग एमालेले तालमेलको तयारी गरिसकेको थियो, तर विशेष महाधिवेशनपछि कांग्रेसमा नयाँ नेतृत्व आएसँगै त्यो सम्भावना पनि टरेको हो।

भूराजनीति र कम्युनिस्ट एकताको बहस

बदलिँदो भूराजनीतिक परिस्थितिको सन्दर्भ दिँदै प्रचण्डले लामो समयदेखि कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। नेकपाका संयोजक प्रचण्डले हालै एमालेसहित सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूलाई एकताको आह्वान गरेका छन्। मुलुक असाधारण संकटतर्फ उन्मुख भइरहेको दाबी गर्दै उनले प्रतिक्रियावादी शक्तिको चलखेल रोक्न राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन्।

उनका अनुसार परम्परागत राजनीतिक संस्कारले मात्र वर्तमान चुनौती सामना गर्न सम्भव छैन। त्यसका लागि आत्मसमीक्षासहित राजनीतिक रूपान्तरण आवश्यक छ।

‘जेन–जी’ आन्दोलन र नयाँ शक्ति

गत भदौमा देखिएको ‘जेन–जी’ आन्दोलन, त्यसपछि उदाएका नयाँ राजनीतिक शक्ति तथा कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तनले आगामी निर्वाचनपछिको समीकरण थप रोचक बनाएको छ। आन्दोलनका क्रममा स्थापित ठूला दलहरू मात्र होइन, राज्यका संवेदनशील निकायहरू समेत आलोचनाको निशानामा परे। यसले नेपालमा विद्यमान भूराजनीतिक दाउपेचलाई थप उजागर गरेको विश्लेषण गरिँदै आएको छ।

नेतृत्वको अडान र सत्ता दाबी

गगन थापाले चुनावी गठबन्धन नगर्ने नीति लिए पनि, चुनावपछि बहुमत नआएमा सरकार गठनबारे स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। एमाले अध्यक्ष केपी शर्मा ओली भने आफू पुनः प्रधानमन्त्रीको दाबेदार भएको संकेत दिइरहेका छन्। कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी छाडेको छैन।

यता, रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै चुनावी माहोल तताइरहेको छ। यसले संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने सम्भावना थप बलियो बनाएको छ।

ओली–प्रचण्ड सहकार्य सम्भव ?

प्रचण्डले करिब २० वटा साना कम्युनिस्ट घटकहरू एकत्रित गरी बनाएको नेकपा र एमालेबीच चुनावपछि सहकार्य हुनसक्ने अनुमान बलियो बन्दै गएको छ। भूराजनीतिक वृत्तमा चीनले सधैं नेपालका कम्युनिस्ट शक्तिहरू एकजुट भएको हेर्न चाहने चर्चा पनि हुने गर्छ।तर एमाले र प्रचण्ड नेतृत्वको दलबीच सबैभन्दा ठूलो बाधा भनेकै नेतृत्वको टकराव हो। विगतमा ‘केपी ओली रहँदासम्म एकता सम्भव छैन’ भन्दै आएका प्रचण्ड अहिले आफैं एकताको प्रस्ताव गरिरहेका छन्। बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा यदि दुवै नेताले एकअर्काको नेतृत्व स्वीकार गर्न सके, कम्युनिस्ट एकता पुनः सम्भव हुने संकेत देखिन थालेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments