डा. पौडेलका अनुसार अत्यधिक टाइट हेलमेटले टाउकोको छालामा दबाब पार्छ, जसले कपालको बाहिरी संरचनामा असर पुर्याउन सक्छ । यस्तो दबाबका कारण कपाल फाटिने, टुट्ने र क्रमशः पातलो हुँदै जाने समस्या देखिन सक्छ । लामो समयसम्म निरन्तर हेलमेट प्रयोग गर्नुपर्ने फ्याक्ट्री कामदारहरूमा यस्तो समस्या तुलनात्मक रूपमा बढी देखिएको उनको भनाइ छ ।
हेलमेटभित्र जम्मा हुने पसिनाले पनि टाउकोको छालामा समस्या ल्याउन सक्छ । डा. मैनालीका अनुसार हेलमेटले टाउकोमा तातो र बन्द वातावरण बनाउँछ, जहाँ पसिना जमेर फंगस तथा ब्याक्टेरिया बढ्न अनुकूल अवस्था सिर्जना हुन्छ । यसले टाउकोको छालामा संक्रमण गराएर चिलाउने, चाया पर्ने जस्ता समस्या निम्त्याउन सक्छ ।
डा. विकासका अनुसार कपाल र टाउको सफा राख्नुका साथै हावा सजिलै प्रवेश गर्ने हेलमेट प्रयोग गर्नु आवश्यक छ । हेलमेटको भित्री भाग नियमित सफा नगर्दा समस्या झन् बढ्न सक्ने भएकाले हेलमेटको सरसफाइलाई बेवास्ता गर्न नहुने उनी बताउँछन् ।
हेलमेट प्रयोग गर्नेले कपालको हेरचाह कसरी गर्ने ?
चिकित्सकहरूका अनुसार हेलमेटबाट हुने प्रत्यक्ष र अप्रत्यक्ष असर कम गर्न सबैभन्दा पहिले सही साइजको हेलमेट छनोट गर्नुपर्छ । डा. पौडेल भन्छन्, ‘हेलमेट न धेरै कस्सिएको हुनुपर्छ, न त धेरै खुकुलो । धेरै टाइट हुँदा कपाल तानिन्छ भने धेरै लुज हुँदा सुरक्षा कमजोर हुन्छ ।’
हेलमेटको भित्री लाइनर, पट्टी र कपडाहरू समय–समयमा सफा गर्नुपर्छ । आवश्यक परे हेलमेट सफा गर्ने विशेष स्थानमा गएर सफा गराउन सकिन्छ, नभए घरमै पनि हल्का साबुन पानीले सफा गर्न सकिन्छ ।
डा. मैनालीले हेलमेटभित्र रुमाल, स्कार्फ वा पतलो कपडाको टोपी प्रयोग गर्न सुझाव दिएका छन् । यस्ता कपडाहरू नियमित रूपमा धुन मिल्ने हुनुपर्छ । साथै लामो समयसम्म लगातार हेलमेट लगाइरहनु भन्दा बीच–बीचमा ब्रेक लिएर टाउकोलाई हावा लाग्न दिनु राम्रो हुने उनी बताउँछन् । हावा प्रवाह राम्रो हुने हेलमेट छनोट गर्दा पनि समस्या कम हुन सक्छ ।
कपाल झर्ने समस्या बढ्दै गएको छ भने के गर्ने ?
यदि हेलमेटको दबाब वा संक्रमणका कारण कपाल झरेको हो भने समयमै ध्यान दिए समस्या सुधारिन सक्ने डा. पौडेल बताउँछन् । यस्तो असर प्रायः अस्थायी हुन्छ, तर समस्या लामो समयदेखि निरन्तर देखिँदै आएको छ भने चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
दुवै विशेषज्ञहरूका अनुसार हेलमेट लगाउँदा कपाल झर्छ भन्ने धारणा धेरै हदसम्म भ्रममा आधारित छ । वैज्ञानिक रूपमा हेर्दा हेलमेट आफैं कपाल झर्ने मुख्य कारण होइन । तर फोहोर, पसिना, फंगस र घर्षणले कपाल तथा टाउकोको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले हेलमेट सही तरिकाले प्रयोग गर्नु र सरसफाइमा ध्यान दिनु जरुरी छ ।
हेलमेटका कारण हुने घर्षण, दबाब र पसिनाले कपाल कमजोर बनाए पनि टाउकोको छालाको राम्रो हेरचाह गरियो भने कपाल पुनः उम्रन सक्छ । तर कपाल लामो समयदेखि झरिरहेकै छ भने ढिलाइ नगरी डाक्टरसँग जाँच गराउनुपर्ने डा. मैनालीको सुझाव छ ।
के हेलमेट लगाउँदा कपाल झर्छ ? विशेषज्ञहरू यसो भन्छन्
RELATED ARTICLES