मानिसको मृत्यु अन्ततः मुटुको धड्कन रोकिनु सँगै हुन्छ । मुटुको चाल चलिरहेसम्म व्यक्तिलाई पूर्ण रूपमा मृत घोषणा गरिँदैन । मस्तिष्क मृत्यु भन्ने अवधारणा भए पनि व्यवहारिक रूपमा हेर्दा कुनै न कुनै कारणले हृदयगति बन्द हुनु नै मृत्युको अन्तिम अवस्था हो ।
हामीले सुतेकै अवस्थामा, हिँड्दाहिँड्दै वा सामान्य काम गरिरहेकै बेला एक्कासी मृत्यु भएका धेरै घटना देख्दै आएका छौँ । यस्ता घटनामा आम रूपमा बुझिने कारण भनेको ‘हर्ट अट्याक’ अर्थात् हृदयघात हो, जहाँ रक्तसञ्चार अवरुद्ध भएर ज्यान जान्छ ।
तर हृदयघात बाहेक पनि मुटुसँग सम्बन्धित अर्को गम्भीर समस्या ‘एरिथमिया’ का कारण मानिसको अचानक मृत्यु हुन सक्छ । विशेषगरी ‘भेन्ट्रिकुलर एरिथमिया’ भनिने अवस्थाले कम उमेरमै समेत ज्यान जोखिममा पार्न सक्छ । यसमा मुटुको नियमित चाल नै बिग्रिन्छ ।
मुटुको आफ्नै प्राकृतिक ताल हुन्छ, जसलाई ‘साइनस रिदम’ भनिन्छ । मुटुको माथिल्लो भाग (एट्रियम) बाट आएको विद्युत् संकेत तल्लो भाग (भेन्ट्रिकल) मा पुगेर मुटुलाई खुम्चिने–तन्किने बनाउँछ । यही प्रक्रियामा गडबडी आयो भने मुटुको धड्कन अनियमित हुन्छ । धड्कन अत्यधिक छिटो, ढिलो वा अव्यवस्थित हुँदा रक्तचाप नियन्त्रणमा रहँदैन र व्यक्ति एक्कासी ढल्न सक्छ ।
यस्तो समस्या निद्रामा हुँदा वा समयमै अस्पताल नपुर्याउँदा ज्यान जाने सम्भावना धेरै हुन्छ ।
कारण
भेन्ट्रिकुलर एरिथमिया धेरैजसो वंशाणुगत कारणले देखिन्छ । परिवारमा कम उमेरमै कसैको अचानक मृत्यु भएको इतिहास छ भने अन्य सदस्यमा पनि यसको जोखिम रहन सक्छ ।
त्यसैगरी केही संक्रमणका कारण हुने मायोकार्डाइटिस् (मुटुको मांसपेशी सुन्निने रोग) ले पनि एरिथमियाको खतरा बढाउँछ । रोग निको भइसकेपछि पनि मुटुको मांसपेशीमा दाग बस्न सक्छ, जसले पछि मुटुको चाल बिगार्न सक्छ ।
मुटुको भल्भसम्बन्धी रोगहरूले पनि एरिथमिया उत्पन्न गर्न सक्छन् ।
लक्षण
कहिलेकाहीँ मुटु अत्यधिक छिटो ढकढकाउने, अचानक रोकिएजस्तो महसुस हुने, धड्कन एकाएक बढ्ने–घट्ने जस्ता लक्षण देखिन सक्छन् । यो समस्या बालबालिकादेखि वृद्धसम्म जुनसुकै उमेरमा देखिन सक्छ ।
उपचार
समयमै पहिचान भयो भने औषधिबाट उपचार सम्भव हुन्छ । औषधिले नियन्त्रणमा नआएमा विशेष प्रक्रियामार्फत मुटुभित्र तार लगाएर गलत चाल उत्पन्न भएको भागलाई करेन्ट प्रयोग गरी नष्ट गरिन्छ । यस उपचार विधिलाई ‘रेडियो फ्रिक्वेन्सी एब्लेशन’ भनिन्छ ।
अर्को प्रभावकारी उपाय भनेको आईसीडी (Implantable Cardioverter Defibrillator) जडान गर्नु हो । यो पेसमेकरजस्तै उपकरण हो, जुन मुटुभित्र राखिन्छ ।
जब मुटुको चाल अत्यधिक बिग्रिन्छ, यो डिभाइसले आफैं बिजुलीको झड्का दिएर मुटुलाई पुनः सामान्य तालमा फर्काउन मद्दत गर्छ । दिन–रात जुनसुकै बेला पनि मुटुको चाल असामान्य हुँदा यसले जीवन बचाउने काम गर्छ ।
नेपालमा पनि एरिथमियाका बिरामीको संख्या उल्लेखनीय छ । यसको उपचार र आईसीडी जडानसमेत यहाँ सम्भव रहेको चिकित्सकहरू बताउँछन् ।
सावधानी
यदि परिवारमा कम उमेरमै कसैको अचानक मृत्यु भएको इतिहास छ भने आफूमा जोखिम हुनसक्ने भएकाले समयमै मुटुको परीक्षण गराउनु बुद्धिमानी हुन्छ ।
धूम्रपान, मदिरा, उच्च रक्तचाप, मधुमेहजस्ता मुटुरोग बढाउने कारणबाट टाढा रहनु पनि एरिथमियाको जोखिम कम गर्ने प्रभावकारी उपाय हो ।
हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?
RELATED ARTICLES